रुपन्देही । रुपन्देहीमा विभिन्न सामुदायिक संस्थाको नेतृत्व हत्याउन राजनीतिक दलका स्थानीय नेताहरूलाई बागी र स्वतन्त्र बाधक बन्न थालेका छन् ।
यसअघि नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी निकटहरूले त्यस्ता संस्थाहरूमा वर्चश्व जमाइरहेपनि अहिले बागी/विद्रोहीले बाजी मार्न थालेका हुन् ।
शुक्रबार मात्रै रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा सत्ताधारी एमाले र कांग्रेसको गठबन्धनलाई हराउँदै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को अध्यक्षमा स्वतन्त्र उठेका खिमलाल पाण्डे फराकिलो मतान्तरका साथ विजयी बने । खिमलाल नेत्रविक्रम चन्द विप्लवनिकट भने मानिन्छन् ।
सचिवमा पनि बागी उम्मेदवारले जितेका छन् । अध्यक्षमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले खिमलालले हराए । पाण्डे यसअघि उपाध्यक्ष र खरेल सदस्य थिए ।
पाण्डेले ३९६ मत पाएर निर्वाचित हुँदा खरेलले २३४ मत पाए । पाण्डेलाई माओवादी केन्द्रले आफ्नो उम्मेदवारी नै फिर्ता लिएर साथ दिएको थियो । एमाले र कांग्रेसका असन्तुष्ट पक्षले पनि उनलाई सघाए । यहाँ एमालेले आफ्ना ४ सयभन्दा बढी भोटर भएको दाबी गर्दै आएको थियो ।
चैत १३ गते बुटवल-२ स्थित फूलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा पनि ठूला दलको गठबन्धनलाई हराउँदखै दीर्घकालीन सहकारीका अध्यक्षसमेत रहेका अभियन्ता हिकबहादुर दर्लामी मगर विजयी भए । खानेपानी समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनसँगै नयाँ नेतृत्वका लागि राजनीतिक दलका उम्मेदवारहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका थिए ।
निर्वाचनमा नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गनाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले ३ वटा प्यानल बनाएका थिए । कांग्रेस र एमालेको छुट्टाछुट्टै प्यानल बनेपछि दर्लामीले आफ्नो टीम बनाए । उनले एमालेका सन्तोष श्रेष्ठ लाई हराए ।
गत फागुन २८ मा नयाँगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा नेपाली कांग्रेसकी मीना घर्ती (जीसी) विजयी भइन् । नेकपा एमालेका नामबहादुर कुँवरले ८०८ र स्वतन्त्र उम्मेदवार वामदेव भुसालले ७५८ मत ल्याए । गठबन्धन गरेका ठूला दल नेकपा एमाले, नेपाली कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले पानीपानी बनाए । यहाँ एमाले, माओवादी र जनमोर्चाको गठबन्धन थियो । जीसी ८ सय १४ मतसहित विजयी भएकी थिइन् । बुटवल १२ र १३ का ४ हजार ७०६ मतदातामध्ये २ हजार ६०४ जनाले भोट हालेका थिए ।
बुटवल १२, १३ मा अधिकांश एमालेको बाहुल्यता भएको क्षेत्र मानिन्छ भने वडाअध्यक्ष भने दुई पटक १३ मा नेपाली कांग्रेसका नारायण बहादुर पुन विजयी भएका छन् । तर पछिल्लो माहोलअनुसार स्वतन्त्र व्यक्तिहरू दलीय गठबन्धनको विरुद्धमा चुनाव जित्दै आएका छन् भने कतिपय स्थानमा टक्कर दिन थालेका छन् ।
यस्तै, उदाहरण छ तिलोत्तमाको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था । यहाँ अध्यक्षमा नेकपा एमाले, नेपाली कांग्रेस र जनमुक्ति पार्टीको गठबन्धनलाई एमालेकै बागी उम्मेदवार झविन्द्र भण्डारीले हराए । भण्डारीले तीन दलीय गठबन्धनका उम्मेदवार रुद्र श्रेष्ठले भन्दा दोब्बर मत ल्याएर दलहरूलाई चुनौती थपे । यद्यपि उनी पनि एमालेकै नेता हुन् । बागी उम्मेदवारले हराएपछि एमालेको तरंग अझै सेलाएको छैन ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाउन एक महिनाअघि नै सहमति भएको रपछि जनमुक्ति पार्टी पनि थपिएको थियो । तर, एमालेकै नेताहरूको गुटबन्दीका कारण थप समस्या पार्यो ।
एमाले लुम्बिनीका सल्लाहकारसमेत रहेका लेखक हरि ज्ञवाली यी परिणाम दलका नेताका गतिविधि र व्यवहारप्रति आम मानिसको चरम असन्तुष्टिको प्रष्ट संकेत भएको बताउँछन् ।
‘राजनीतिक दलले समाजमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन नसक्नु यसको अर्को कारण हो । राजनीतिले मानवता, सामाजिक सम्बन्ध र मेलमिलापलाई खलबल्याउँछ । आममानिसलाई राजनीतिक सिद्धान्त र उद्देश्यसँग त्यति मतलब हुँदैन । त्यसैले राजनीतिक दलहरूले सामाजिक विशुद्ध सामाजिक संघसंस्थामा समेत हस्तक्षेप गर्दै राजनीति गर्ने प्रवृत्तिप्रति वितृष्णा जागेका कारण आम मानिस स्वतन्त्र खालका व्यक्तिप्रति आकर्षित भएका छन्’, उनले भने ।
सामाजिक अभियान्ता कृष्ण चौहानका अनुसार सामाजिक संस्थाहरूमा अब सक्षम मान्छे पनि दलबाट टिकट लिएर उठे पराजित हुने प्रष्ट संकेत देखिएको बताउँछन् ।
‘गतिलो मान्छे पुरानो पार्टीको नाममा उठेपछि हारिँदो रहेछ, पछिल्ला केही संस्थाका निर्वाचनले त्यो संकेत देखाएको छ, अबै सबै युवाको चेत खुलोस् है’, उनी भन्छन् ।
अधिवक्ता तथा विश्लेषक विष्णुप्रसाद पौडेलले सामाजिक संस्थाको नेतृत्व चयन गर्ने विधिमा दलहरूले अनावश्यक हस्तक्षेप गरेकाले यस्तो भएको अहिले आएका नतिजाका परिणाम भएको टिप्पणी गर्छन् ।
‘दलीय रूपमा पार्टीको चुनाव चिन्ह लिएर मात्र उम्मेदवार हुने ठाउँमा दलले उम्मेदवार सिफारिस गर्ने, तय गर्ने हो । दलीय चुनाव चिन्ह लिएर उम्मेदवार हुने बाहेक अन्य सवै ठाउँमा दलले हस्तक्षेप गर्ने काम र अभ्यास गलत छ’, पौडेल भन्छन्, ‘उद्योग, व्यवसायका संघसस्था, स्कुल-कलेज, खानेपानीलगाएतका सामाजिक संघसंस्था समेतमा सवैलाई स्वतन्त्र रूपमा आफ्नो अधिकार प्रयोग गर्न दिनु पर्छ । दलहरु एक्टिभ हुनु हुँदैन ।’
विश्लेषक ऋषि आजाद सामाजिक संस्थामा दलीय गठबन्धन गरेर चुनावमा जाने प्रकृया गलत भएको र अब मतदाता सचेत भएको अहिलेका उदाहरणले देखाएको बताउँछन् ।
नेकपा एमाले निकट युवा नेता देवराज पोखरेलले पछिल्लो समयमा राजनीतिक दलले गर्ने कार्यप्रणालीकै कारण जनस्तरबाट विरोध भैरहेको अहिले भएका संघसंस्थाको निर्वाचनको परिणाम भएको बताउँछन् । उनले राजनीतिक दलहरूमा भैरहेको ‘दम्भ नै अलोकप्रिय बादको उपज’ भएको टिप्पणीसमेत गरेका छन्।
एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्बोधन गर्दै पोखरेलले भनेका छन्, ‘बनबाटिका हारियो, कांग्रेससंग गठबन्धन गरी भिजनरी युवा इन्जिनियर उठाउँदासमेत हार ब्यहोर्नु पर्यो, कम्तीमा तपाईं आफैँले समीक्षा गर्नुस्, यति धेरै बजेट हाल्दा, यति धेरै महत्वपूर्ण योजनाहरू अघि सार्दा समेत किन जस पाउने अवस्था बनेन ।’
विश्लेषक कश्यप घिमिरेले हरेक क्षेत्रलाई राजनीतिकरण गरिनु हुँदैन भन्ने पाठ अहिलेका निर्वाचनले पढाएको हुनुपर्ने बताउँछन् ।
‘खानेपानी, वन, विद्यालय व्यवस्थापन, सहकारी संस्था आदि ठाउँमा पार्टीका प्यानल होइन स्थानीयलाई स्वतन्त्र छोड्नु पर्छ त्यहाँ पार्टी हुँदैन, गाउँ हुन्छ भाई हुन्छ भतिजो हुन्छ कान्छो बाउँ हुन्छ माइलो बाउ हुन्छ, गाउँमा समाजसेवी हुन्छ अभियान्ता हुन्छ त्यसैले त्यो फ्री हुनुपर्छ’, उनले भने–‘यहाँसम्मकी स्थानीय चुनावसमेत पार्टीले टिकट दिने सिस्टम खारेज गरी स्वतन्त्र चुनाव हुन् दिनुपर्छ विकासको जग स्थानीय निकाएका भूगोल हुन्,पार्टीले थोपरेको उम्मेदवार नभई गाउँ बुझेको योग्य गाउँको प्यारो मान्छे गाउँलेले चुन्ने ब्यवस्था हुनुपर्छ अनि बिनापक्षपात विकास हुन्छ ।’
तस्बिर क्याप्सन- (शंकरनगर वनबिहारको निर्वाचनमा गठबन्धनका उम्मेदार)