विराटनगर । एकीकृत समाजवादी मोरङको अधिवेशनमा नेतृत्व चयनमा सकस भएपछि अध्यक्षमण्डलले जबरजस्ती नेतृत्वको नाम टाँस्ने तयारी गरेको छ । अध्यक्षका आकाङ्क्षीहरूले आफ्नो दाबी नछाडेपछि अध्यक्षमण्डलले आयोजक समितिका संयोजक चन्द्रवीर राईलाई नै अध्यक्ष घोषणा गर्ने तयारी गरेका छन् ।
तर अध्यक्षमण्डलको घोषणालाई अध्यक्षमा दाबी गरेकाहरूले अस्वीकार गरेपछि नयाँ कार्यसमितिको घोषणा गर्न सकेको छैन । स्रोतका अनुसार चन्द्रवीरलाई नै अध्यक्ष बनाउने अन्तिम तयारी भएको छ । अध्यक्षमण्डलले अध्यक्षको दाबी गरेका डा. उद्धव पोख्रेल र दीपक ढकाललाई उपाध्यक्षमा राख्ने गरी तयारी गरेको छ ।
सचिवमा तुलसी ढकाललाई घोषणा गरेर जाने तयारी छ । ‘मोटामोटी यही हो’, समाजवादीका एक नेताले भने, ‘बन्दसत्रले सर्वसम्मत नेतृत्वको म्यान्डेट दिएकाले चन्द्रवीरकै नेतृत्वमा कमिटी घोषणा हुन लागेको छ ।’
अध्यक्षमण्डलले चन्द्रवीरको नेतृत्वको कार्यसमिति घोषणा गर्ने तयारी भए पनि उपाध्यक्षमा राख्ने भनिएका दुवैले उपाध्यक्षमा बस्न अस्वीकार गरेपछि अध्यक्षमण्डलले नाम घोषणा गर्न सकेको छैन ।
अध्यक्षमण्डलका एक सदस्यले भने, ‘सिनियर भएका हिसाबले चन्द्रवीरकै अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी भएको छ । अध्यक्षका अन्य दुई आकंक्षीलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।’
उनका अनुसार अध्यक्षमण्डलका अध्यक्ष एवं एकीकृत समाजवादीका सचिव बलदेव चौधरी नै नेतृत्व टुङ्ग्याउन छाडेर हिँडेपछि नाम घोषणा हुन सकेको छैन । उनी प्रदेश अधिवेशनको तयारी भन्दै हिँडेका छन् ।
अध्यक्षमण्डलका सदस्य तथा पोलिटब्युरो सदस्य महेश रेग्मीले नेतृत्व छनोटको प्रक्रिया अझै टुङ्गो नलागेको बताए । उनले भने, ‘हामी छलफलमै छौं । सम्भवतः आजसम्ममा नेतृत्व टुङ्गो लगाउँछौं ।’
अध्यक्षका आकांक्षी डा. उद्धव पोख्रेलले आफू अध्यक्षबाहेक अन्य पदमा नबस्ने बताए । उनले भने, ‘मैले अध्यक्षको दाबी गरेको हो । हिजो लुकी लुकी संयोजकको रूपमा काम गरेको हो । अहिले अधिवेशनमा आइसकेपछि सहमतिका नाममा पाखा लगाउने काम भइरहेको छ ।’
नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशनको उद्घाटन अध्यक्ष माधव नेपालले गरेका थिए । अधिवेशनमा निर्वाचनका लागि मनोनयन दर्ता भएपछि अध्यक्षमण्डलले सहमतिका नाममा निर्वाचनका सबै कागजात पार्टी कार्यालय लगेको थियो । अधिवेशनले ८२ जना सदस्य निर्विरोध रूपमा चयन गरेको छ ।