पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन हुने लगभग निश्चित भएको छ । आइतबार रातिसम्म उम्मेदवारी मनोनयन सकिएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको नामावली तयार भइरहेको छ । अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीले प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन् ।
निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र बिनय शाहले उम्मेदवारी दिएका छन् । गुरुङ अध्यक्षका दाबेदार थिए । त्यस्तै थेवेको प्यानलबाट महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ ।
क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, आयोग अध्यक्षहरुमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।
पार्टी नेतृत्वले क्षितिजलाई सर्वसम्मत अध्यक्षका लागि अघि सारेको थियो । तर सुमन पुरीले अडान नछाडेपछि क्षितिजले पनि मैदान छाडेनन् र नेतृत्वकै चाहनाबमोजिम उनी अध्यक्ष र महाराज उपाध्यक्षमा समायोजन भएको दावी छ । अध्यक्षका अर्का दाबेदार कृष्णहरी केसीले नेतृत्वको आग्रहपछि थेबेलाई समर्थन गरेर मैदान छाडेका छन् ।
महाराज गुरुङलाई थेबेको उमेर हद नाघेपछि प्रक्रियासम्मत ढंगले अध्यक्ष हस्तान्तरण गर्ने भद्र सहमति भएको दावी समेत गरिएको छ ।