भक्तपुर । जिल्लास्थित सूर्यविनायक नगरपालिकाले बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिताको उपाधि जितेको छ । बागमतीका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा समग्रमा ५ स्वर्ण र १ रजत पदक जित्दै सूर्यविनायक नगरपालिकाले उपाधि जितेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ३ स्वर्ण, १ रजत र ३ काँस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्दा काठमाडौं महानगरपालिका २ स्वर्ण, १ रजत र ५ काँस्य पदकसहित तेस्रो भयो ।
प्रतियोगिता संयोजक एवं भक्तपुर जिल्ला सितेरियो कराँते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार स्पर्धामा पुरुषतर्फ ललितपुरको गोदावरी नगरपालिकाका राज ब्लोन र महिलातर्फ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा दुई दिनसम्म भएको प्रतियोगिताका विजयी खेलाडी तथा टीमलाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले कप, मेडल तथा प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक त्वातीले जानकारी दिए । प्रतियोगिता पुरुषतर्फ ३५ देखि ६७ प्लस केजी र महिलातर्फ ३५ देखि ६१ केजी तौल समूहका छुट्टाछुट्टै स्पर्धा गराइएको थियो । महिला–पुरुषतर्फ व्यक्तिगत तथा टीम कातामा पनि स्पर्धा गराइएको थियो ।