रुपन्देही । कर्मचारीले अटेरी गरेर समयमा नआएको भन्दै बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले पालिका कार्यालयको गेटमा करिब चार घण्टा ताला लगाएर आफू भित्र बसेकी छन् ।
बुधबार उपाध्यक्ष रोकायाले समयमा कर्मचारीहरू हाजिर नहुने समस्याबारे कार्यपालिका तथा कर्मचारी बैठकमा पटक–पटक छलफल गरिए पनि वास्ता नगरेपछि बाध्य भएर ताला लगाएको बताएकी छन् ।
कर्मचारीले सधैं अनुशासन नमान्ने प्रवृत्तिलाई बुधबार पनि निरन्तरता दिएपछि ताला लगाउन बाध्य भएको उनको भनाइ छ ।
‘मैले धेरै पटक यो कुरा उहाँहरुलाई भनेको थिएँ, समयमा कर्मचारी नआउँदा धेरै गुनासो आयो तर सुधार नै हुन सकेन, आज अध्यक्ष र कार्यकारी दुवै बाहिर तालिममा जानुभएको थियो, कर्मचारीहरुले झनै वेवास्था गर्नुभएपछि ताला लगाएको हुँ, त्यो जानकारी सिडियो, अध्यक्ष र कार्यकारीलाई दिएको छ’ उनले भनिन् ।
आफू समयमा पालिका पुगेर कर्मचारीलाई पर्खिँदा धेरै कर्मचारी नआएपछि बुधबार बिहान १०ः१७ बजे मूलद्वारको च्यानल गेटमा ताला लगाएको उनले बताकी छन् । उनी पुग्दा एक–दुई जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी मात्र आएका थिए ।
कर्मचारीहरूमा पदीय मर्यादा र अनुशासन हराउँदै गएको, कर्मचारी पोशाक नलगाउने, जतिखेर मन लाग्यो काम छाडेर कार्यालय बाहिर निस्कने गरेको उनको गुनासो छ । पालिकामा अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखा प्रमुख भने तालिममा गएका छन् ।
गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई फोनमार्फत जानकारी गराएको र कार्यालय समयमा हाजिर नहुने कर्मचारीको बानी तत्काल सुधार्नुपर्ने बताएको उनको भनाइ छ । यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसबाट निर्वाचन जितेका हुन् ।
उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि ढिलो आउने कर्मचारी र सेवाग्राहीहरू बाहिर बसेको र ढिलो आएका कर्मचारीहरूले अबदेखि समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे ताला खोलिएको उपाध्यक्ष रोकायाले बताइन् । ‘हाकिम सापलाई यो विषयमा अब नदोहोराउने गरी कर्मचारीलाई लिखित पत्र दिन लगाएर ताला खोलिएको होड उनले भनिन् ।