काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले टिप्पणी बिचौलियातन्त्रले गणतन्त्रमा पनि रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरहेको टिप्पणी गरेका छन् ।
सरकार बनाउन वा भत्काउन बन्ने गठबन्धनको नालायकी जनतामा निराशा र आक्रोशको उकुसमुकुस बढ्दै गएको उनको बुझाइ छ ।
त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै
आजको मुद्दा:
आजको हाम्रो लोकतान्त्रिक गणतन्त्रका दुईवटा मुख्य जिम्मेवारी थिए: कृषि, उद्योग, पर्यटन, सूचना–प्रविधि, जलविद्युतलगायत उत्पादक पूर्वाधारमा लगानी गरेर बेरोजगारी उन्मुलन गर्नु र शिक्षा तथा स्वास्थ्यमा सबै जनताको पहुँचलाई ग्यारेन्टी गर्दै सबै खालका विभेद, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गरेर सुशासनको ग्यारेन्टी गर्नु । अर्थात्, रोजगारी र सुशासन नै राज्यको/राजनीतिको/राजनीतिक दलको वा दलका नेताको नीति, कार्यक्रम र योजना हुनुपर्थ्यो, तिनका योग्यता-अयोग्यताको कसी हुनु पर्थ्यो ।
दुर्भाग्यवश, उद्यम नगर्ने तर अकूत नाफा थुपार्दै जाने पुँजीपति र भ्रष्ट राजनीतिक नेतृत्वको मिलीभगतबाट जन्मिने दलाल पुँजीवाद (चल्तीमा भाषाको ‘बिचौलियातन्त्र’) ले गणतन्त्रमा पनि हाम्रो रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरह्यो । आज नेपालमा त्यही भएको छ ।
जसरी पनि सरकार बनाउने वा जसरी पनि भत्काउने भो/जुवाको खालमा गणतन्त्रको चीरहरण हुँदै गयो, एकपछि अर्को गठबन्धनको नालायकी उदाङ्गो बन्दै गयो र जनतामा निराशा र आक्रोशको उकुसमुकुस बढ्दै गयो । हेर्दाहेर्दै, पुरानो दरबारका हुक्के–बैठकेहरू दिनदहाडै राजतन्त्रको मृतात्माका पुनरुत्थानको सपना देख्न थाले । सङ्क्षेपमा, हाम्रो राजनीतिले एजेन्डा गुमाउँदै गयो, समाज बरालिँदै गयो।
वास्तवमा, दश वर्षमा बेरोजगारी उन्मुलन गर्न र विभेद, ढिलासुस्ती तथा भ्रष्टाचार मुक्त मुलुक बनाउन सकिन्थ्यो, सकिन्छ । राष्ट्रले खोजेको राजनीतिको एजेन्डा यही हो, राष्ट्रिय एकता र स्वाधीनताको रक्षाको मूलबाटो यही हो, संविधानले बोकेको सपना पनि यही हो ।
हाम्रो प्रयत्नले राजनीतिलाई सही बाटोमा हिँडाउन र त्यस्तो पार्टी तथा नेतृत्व निर्माण गर्न सकिन्छ । जति हन्डर ठक्कर खाए पनि यो मुलुक आज वा भोलि वा पर्सी यही ठाउँमा आउनै पर्छ । त्यसैले आउनु होस्, छलफल गरौँ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी !’