काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्धको निर्णायक खेलमा नेपालकी कप्तान इन्दु बर्माले आफूले पाएको ‘प्लेयर अफ द म्याच अवार्ड’ मनिषा उपाध्यायलाई दिएकी छन् ।
नेपाललाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेकी इन्दुले प्लेयर अफ द म्याचको अवार्ड मनिषालाई दिएकी हुन् । इन्दुले २८ बलमा अविजित ३० रन बनाएकी थिइन् । मनिषा बलिङमा चम्किँदा नेपालले युएईलाई सस्तोमै रोकेको थियो ।
४ ओभर बलिङ गरेकी मनिषाले २० रन खर्चेर ४ विकेट लिइन् । उनले सेट भइसकेका युएईकी कप्तान ईशा ओजा, हीना होटचंदानी, लावन्या केनी र मिशेल बोथालाई आउट गरेकी थिइन् ।
‘सबै खेलाडी जितका लागि योग्य छन् । म प्लेयर अफ द म्याच अवार्ड मनिषा उपाध्यायलाई दिन चाहन्छु,’ कप्तान इन्दुले भनिन् ।
नेपालले युएईलाई हराउँदै पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको हो । खेलपछि कप्तान इन्दुले नेपालका लागि यो ऐतिहासिक क्षण रहेको बताइन् ।