Take a fresh look at your lifestyle.

‘संयुक्त जनआन्दोलन’ को छेकोमा हृदयेन्द्र स्वदेश फर्किनु संयोग मात्र

0

काठमाडौं । पूर्वनवयुवराज हृदयेन्द्र वीरविक्रम शाह आज अमेरिकाबाट स्वेदेश फर्किएको तस्विर आएपछि राजावादीहरुको एउटा पङ्क्ति अनाहकमा हौसिएको छ । सामाजिक सञ्जालमा कतिपयले उनको आगमनलाई १५ गतेबाट सुरु हुने संयुक्त जनआन्दोलनसँग जोडेर समेत प्रचार गरिरहेका छन् ।

हृदयेन्द्र आज बिहान ८ः३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । त्यही बेला नोरा फतेहीको फोटो खिच्न विमानस्थलमा सञ्चारकर्मीको भीड लागेको थियो । पूर्वनवयुवराजलाई धेरैले नोटिस नै गरेनन् । केहीले देखेर पनि चिनेनन् । लामो कपाल र चुस्स दारी-जुँगासहित अलिक फरक गेटअफमा देखिन्थे हृदयेन्द्र ।

उनलाई रिसिभ गर्न राजपरिवारसँग सम्बन्धित एक महिला एयरपोर्ट पुगेकी थिइन् । एक सुरक्षा गार्डले पूर्वराजा चढ्ने बीएमडब्ल्यू कार लिएर गएका थिए । फर्किने क्रममा हृदयेन्द्र आफैंले कार ड्राइभ गरे । उनीहरु सीधै निर्मल निवासतर्फ लागेका थिए ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट राजसंस्था पुनःस्थापनाका लागि निर्णायक र अनवरत आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । राजालाई गद्दीमा नबसाल्दासम्म यो आन्दोलन नरोकिने समितिको दाबी छ । राप्रपा र राप्रपा नेपालसहित सबै राजावादी शक्तिहरु मिलेर पहिलो पटक एकीकृत आन्दोलन गर्न लागेका हुन् ।

यसअघि राजावादी अभियन्ता डा. जगमान गुरुङले १५ जेठमा नै राजालाई गद्दी आरोहण गराउने सार्वजनिक घोषणा गरेका थिए । उनले साइत हेरेरै यो तिथि निकालेको उनको भनाइ छ । गुरुङ जनआन्दोलन समितिका सल्लाहकार समेत हुन् ।

के पूर्वनवयुवराजको स्वदेश आगमनको संयुक्त जनआन्दोलनसँग कुनै साइनो छ ? हामीले निर्मल निवास स्रोतलाई यो प्रश्न सोध्यौं । स्रोतले यसलाई खारेज गर्‍याे ।

‘उहाँको छुट्टीमा नेपाल आउनुभएको हो, यसमा कुनै पनि राजनीतिक प्रयोजन छैन,’ स्रोतले भन्यो ।

सामाजिक सञ्जालमा त कतिपयले अब हृदयेन्द्रलाई नै गद्दीमा बसाल्ने कुरा गरिरहेका छन् नि भन्ने प्रश्नमा स्रोतले जवाफ दियो, ‘पहिले त ज्ञानेन्द्र सरकार नै राजा बन्ने होला नि, हजुरबा भन्दा पहिले नातिको पालो आउँछ र ?’

२२ वर्षीय पूर्वनवयुवराज हृदयेन्द्र अहिले अध्ययनका क्रममा अमेरिकामा बस्छन् । अमेरिकाको बोस्टनमा मास्टर्स पढिरहेका छन् उनी । स्नातक पनि उनले यही पढेका थिए । हृदयेन्द्रकी दिदी पूर्णिका शाह (२४) र बहिनी कृतिका शाह (२०) भने थाइल्यान्डमा बसेर पढिरहेका छन् ।

आफ्नो अध्ययनमै ‘फोकस्ड’ रहेका यी तीनै दाजुबहिनी सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन् । विगतमा हिमानी ट्रस्टले गरेका एकाध कार्यक्रममा हृदयेन्द्र देखापरेका थिए । अन्यथा चुपचाप विदेशमा पढेर बसिरहेका छन् ।

शालिन र शान्त छविका हृदयेन्द्र आजका दिनसम्म ‘लो-प्रोफाइल’ को जीवन बाँच्दै आएका छन् । उनलाई चर्चाको कुनै भोक छैन र राजनीतिमा चासो पनि देखाएका छैनन् । पिता पूर्वयुवराज पारस शाहको भन्दा उनको छवि ठीकविपरीत छ । पारस सुरुदेखि अनेक विवादमा मुछिएका थिए भने हृदयेन्द्र आजका दिनसम्म विवादमुक्त छन् । उनको शिष्टता र अनुशासनलाई लिएर धेरेले प्रशंसा गर्ने गर्छन् । युवायुवतीहरूको ठूलो जमात उनका फ्यान छन् । कैयौं युवतीहरूले उनलाई ‘क्रस’ भन्ने गर्छन् ।

हालैमात्र एक अभिनेत्रीले हृदयेन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि निकै वादविवाद भएको थियो । राजसंस्थाविरोधीहरुले ‘हृदयेन्द्र फिल्म खेल्न नेपाल आएको होला’ भन्दै कटाक्ष पनि गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.