Take a fresh look at your lifestyle.

रविविरुद्ध ‘फेक’ जाहेरीको तेस्रो केस, प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था !

0

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगीको विषयमा रुपन्देही प्रहरीले गरेको अनुसन्धानलाई लिएर सन्देह बढ्दै गएको छ । आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै तेस्रो बचतकर्ता सार्वजनिक भएकी छन् ।

जाहेरीकर्ताको पहिलो नम्बरमै नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको बताएकी हुन् । आफूलाई अहिलेसम्म यो विषयमा प्रहरी प्रशासनले कहिल्यै बोलावट र सोधखोज समेत नगरेको उनको भनाइ छ । यसअघि दुईजना बचतकर्ताले पनि यस्तै गुनासो सार्वजनिकरुपमा गरेका थिए, जसले गर्दा प्रहरी दबाबमा परेको छ ।

पूजाले पनि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था केही रकम बचत गरेकी थिइन् । सो रकम फिर्ता नआएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन् ।

उनको स्टाटस जस्ताको त्यस्तैः

‘म सुप्रिम सहकारीको बचतकर्ता र सहकारी पीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिएँ । जब सहकारी डुब्यो भन्ने थाहा पाएँ, त्यसपछि धेरैपटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाइनमा बसेँ, । पछि इलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसेकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबुकको फोटोकपी लगेर बुझाएको हो ।

मैले कुनै ब्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ । मैले ढिला मात्रै थाहा पाएँ ।

कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारीसम्म दिएन । मैले उजुरी दिएकै हैन, पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ । म आज पनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ, तर कसैलाई राजनीतिक रूपमा प्रतिशोध गरेर फसाउन खोजिरहँदा हामी सोझा जनतालाई प्रयोग नगरियोस् ।

प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । त्यसको ११ दिनपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताइन् । गीतापछि पुजा खुलेकी हुन् । यसरी एकपछि अर्का जाहेरीकर्ताले गम्भीर आरोप लगाएपछि प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने स्थिति देखिएको छ ।

प्रहरी-प्रशासनले कागजात किर्ते गरेर रविविरुद्ध मुद्दा हालेको रास्वपा नेता–कार्यकर्ताहरूले बताउन थालेका छन् ।

सहकारी पीडितहरूले नै आफ्नो उजुरी र नामको दुरुपयोग भइरहेको बयान किन र के कारणले लामिछानेलाई थुनिएको छ भन्ने प्रष्ट भएको रास्वपा अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले बताए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेकै थिएन । प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी आह्वान गरेर रविलाई प्रतिवादी बनाएको हो । पूरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम सार्वजनिक गरेको थियो ।

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । अहिले उनको सरुवा भइसकेको छ । उनको ठाउँमा डीएसपी इन्द्रबहादुर राना आएका छन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले यति लामो समय अनुसन्धान भएको विषयमा अन्तिम समयमा उजुरीकर्ताले यसो भन्नु अनौठो भएको बताए ।

‘म रुपन्देही आएको त धेरै भएको छैन । तर जाहेरीमा र अनुसन्धान प्रतिवेदनमा उहाँहरूको औँठाछापसहितको विवरण सबै छ । अनुसन्धानको यति लामो समय किन बोल्नुभएन, अहिलेसम्म किन यो विषय बाहिर आएन भन्ने कुराहरू छन् । अनुसन्धानमा प्रहरी, अदालतमा पक्कै बोलाइयो होला । यो विषय पनि जोडिएको छ ।’

बचतकर्ता तीनैजनाले भने आफूहरूलाई प्रहरी प्रशासनले केही पनि खबर नगरेको र बयानसमेत नलिएको बताएका छन् ।

एसपी क्षेत्रीले थपे, ‘मुद्दा अदालतमा भएकोले अहिले कसैको विषयमा हामी केही बोल्ने, उहाँहरूलाई थप कुरा सोध्ने कुरा हुँदैन, वास्तविकता पक्कै बाहिर आउला ।’

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छाडिएका लामिछाने उच्च अदालतको आदेशमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

Leave A Reply

Your email address will not be published.