राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण (भिडिओ)
काठमाडौं । राप्रपाले राजा फर्काउनको लागि १५ गतेबाट थालेको आन्दोलन उत्साहप्रद रहेको निष्कर्ष निकालेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनबारे गम्भीर समीक्षा गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
उनले आन्दोलन समितिको निर्देशन अनुसार परिचालित हुने निर्णय बैठकले गरेको पनि बताए।
उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राजावादीहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि हुन्छ। हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। यसले हामीलाई दुखी भन्दा पनि उत्साह पैदा गरेको छ।’
उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको बताए। ओलीको आह्वानमा १५ गते एमालेको कार्यक्रममा उपस्थिति हेरेपछि गणतन्त्र कमजोर हुँदै गइरहेको निष्कर्ष निकालेको उनले बताए।
बैठकले आन्दोलनलाई प्रभावकारी, अझ व्यवस्थित, अझ जनसहभागितामूलक र परिणाममुखी बनाउने निर्णय पनि गरेको छ।