पोखरा । राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेबाट सुरू निर्वाचनमा फर्जी कार्ड बनाएर भोट हाल्न थालेपछि केहिबेर मतदानसमेत रोकियो ।
रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । अहिले पुन: भोटिङ सुरू भएको छ । यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमार्फत् फर्जी कार्डको विरोध जनाएका छन् ।
‘स्वस्थ प्रतिस्पर्धा यही हो त ? एकजना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ । यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ । पछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?,’ उनले लेखेका छन् ।
बिहान १० बजेबाट सुरू मतदानमा १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।