पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन शुक्रबारदेखि पोखरामा जारी छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास विफल भएपछि निर्वाचन प्रक्रिया थालिएका थियो ।
शनिबारदेखि निर्वाचनको प्रक्रिया सुरु भएपनि हालसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन । यसअघि आज बिहान ८ बजेदेखि दिउँसा ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।
तर, हालसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन । मतदानको समय खाली राखेर निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृत जय गुरुङले उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारीमा रहेको बताए । उनले उम्मेदवारको क्लष्टर फरक पर्दा नामावली प्रकाशनमा ढिलाई भएको उल्लेख गरे । ‘अन्तिम नामावली त तयार नै छ । केही साथीहरुको क्लष्टरमा प्रोष्टेष्ट परेकाले संगठनसँग बसेर छलफल गरेर प्रकाशन गर्छाैं’, उनले नेपाल प्रेससँग भने ।
अन्तिम नामावली प्रकाशित भएपनि मतदान भने भोलि हुने निर्वाचन अधिकृत गुरुङले बताए । तर, प्रतिनिधिहरुले भने निर्वाचन प्रक्रियामा अस्वभाविक ढिलाई भएको गुनासो गरेका छन् । सर्वसम्मतको नाममा विपक्षीलाई थकाउने काम भइरहेको उनीहरुको आरोप छ ।
निर्वाचनका लागि पोखरा आएको जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत, इन्चार्ज राजिव पहारी महाधिवेशन स्थलमा देखिएका छैनन् । इन्चार्ज पहारीको मोबाइल अफ छ । ती नेताहरु नै महाधिवेशन स्थलमा नहुँदा निर्वाचन नहुने डर प्रतिनिधिमा छ ।
‘हामी ११ गतेसम्मका लागि आएको हो । अहिलेसम्म निर्वाचन हुने कुनै छाटकाट छैन । निर्वाचन गर्न आउनुभएका नेताज्यूहरु पनि हुनुहुन्न । निर्वाचन हुने हो कि होइन । बसौं की जाउँ भइराखेको छ’, एक प्रतिनिधिले भने ।
चुनावका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । उपमहासचिवमा थेबे प्यानलबाट उपेन्द्र शाही र पुरी प्यानलबाट खेमराज शर्माले उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष थेवेलाई अध्यक्ष बनाउन निर्देशन दिएपनि सुमनले अडान नछोडेपछी चुनावी प्रक्रिया अघि बढेको हो । निर्वाचनका लागि दुवै पक्ष प्रचारप्रसारमा जुटेका छन् ।
मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने काम गरिरहेका छन् । उनीहरुले छुट्टाछुट्टै आफूनिकट प्रतिनिधिहरुको भेलासमेत गरिसहेका छन् । तर, निर्वाचन प्रक्रियाको अस्वभाविक ढिलाईले सर्वसम्मतको नाममा पार्टीले दिएको लिष्ट पढ्ने आंशका प्रतिनिधिहरुमा छ ।
सुमन पुरी प्यानलका उपाध्यक्ष उम्मेदवार प्रवेश भण्डारीले प्रतिनिधिलाई होटल होटलमा बोलाएर धम्क्याउने,थर्काउने र प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।