काठमाडौं । नेकपा माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टी (नेसपा) गंगानारायण श्रेष्ठ पक्ष समाहित भएको छ ।
ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी समायोजनको घोषणा भएको हो । कार्यक्रमको क्रममा ५ बुँदे सहमतिपत्रमा प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुने, नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुने, समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिने उल्लेख छ ।
पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रियता मान्यता अनुसार पार्टी सञ्चालन गरिनेछ, कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिनेछ र समायोजन भएका श्रेष्ठलाई सचिव र अन्यलाई सङ्गठनमा जिम्मेवारी पाएको अनुसार जिम्मेवारी दिइने उल्लेख छ।