काठमाडौं । सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीको निर्देशनविपरीत एमालेसम्बद्ध राष्ट्रिय युवा संघ निर्वाचन तयारीमा जुटेको छ । मतदानका लागि शनिवार बेलुका नै विद्युतीय भोटिङ मेसिन पोखरा ल्याइसकिएको छ भने एमाले निर्वाचन आयोगका मनोज खड्कासहितका नेता मैदानमै छ ।
पोखरामा शुक्रबारदेखि जारी १० औं महाधिवेशनका क्रममा अध्यक्षका दुई दाबेदारमध्ये दुबैले दाबी नछाड्दा निर्वाचन तयारी गर्नुपरेको पूर्वअध्यक्ष राजीव पहारीले बताए । यद्यपि सर्वसम्मतको प्रयास भने जारी राखिएको उनी बताउँछन् ।
अध्यक्ष पदका लागि क्षितिज थेवेलाई दोहोर्याउन पार्टीको निर्देशन छ । तर, महासचिव सुमन पुरीले पनि दाबी गरेपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको हो । थेवेलाई पुनः अध्यक्ष बनाउनका निम्ति पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको निर्देशन रहेको पार्टीस्रोतले जनायो ।
महासचिवमा अहिलेसम्म ४ जनाले दाबी गरिरहेका छन् । उपमहासचिव राजन थापासहित सचिवहरू पर्वत भण्डारी, विनय शाह र महेश चौलागाईं महासचिवका लागि मैदानमा देखिएका छन् । यद्यपि, अध्यक्ष सर्वसम्मत हुने स्थिति भएपछि पार्टी नेतृत्वले महासचिवमा पनि सर्वसम्मत प्रयास गर्ने एक आकांक्षीले बताए ।
१७५३ जना प्रतिनिधि पोखरामा छन् । त्यसमध्ये आयोगका १२ जनालाई स्वतः प्रतिनिधि बनाउने कि नबनाउने भन्ने विवाद हुँदा मतदाता नामावली प्रकाशनमा विलम्ब भएको पूर्वअध्यक्ष पहारीले बताए ।
१२ बजे मनोनयन दर्ता गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएको छ । सर्वसम्मत प्रयासका निम्ति उक्त समय लम्बिने संकेत पहारीले गरे ।
‘सकेसम्म चुनाव नगराऔं, सहमतिमै जाऔं भन्ने प्रयास छ’, उनले भने ।
पार्टी अध्यक्ष ओलीले सर्वसम्मत वा चुनावमध्ये जुन विधिबाट भए पनि वर्तमान अध्यक्ष थेवेलाई नै पुनः अध्यक्ष बनाउन निर्देशन दिएका छन् । सो निर्देशनबमोजिम पार्टीको जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालसहितको पार्टी नेतृत्व थेवेकै पक्षमा देखिएका छन् ।
संघका पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, राजीव पहारी, किरण पौडेल र रमेश पौडेलहरु पनि अन्तिम समयमा आएर थेवेकै पक्षमा खुलेका छन् । पार्टी नेतृत्वको निर्देशन आउनुअघि उनीहरू थेवेलाई दोहोर्याउन नहुने पक्षमा थिए ।
पार्टी निर्देशनपछि अध्यक्ष दाबी गर्ने उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङ पछाडि हटेका छन् । त्यसमध्ये दुई वर्ष कार्यकालको बीचमा ४० वर्षको उमेरहद लागेर थेवे बिदा हुँदा गुरुङलाई अध्यक्ष बनाउने सहमतिअनुसार उनी अहिले उपाध्यक्षमै दोहोरिने भएका छन् ।
अध्यक्षका अर्का दाबेदार पुरी पनि उमेर हदबन्दीका दृष्टिले ४० नजिक छन् । यदि अध्यक्ष ओलीले भनेमा उम्मेदवारीबाट फिर्ता भएर पार्टी जिम्मेवारीमा जाने उनको मनस्थिति रहेको चर्चा महाधिवेशनस्थलमा छ । उनले भने कुनै प्रतिक्रिया दिएका छैनन् । तर, पुरीले अडान नछाडेको खण्डमा एमालेका जनसंगठन मध्ये पहिलोपटक युवासंघमा निर्वाचन हुने निश्चित देखिएको छ ।
महासचिव पदका लागि दाबी गरिहेका राजन थापा र पर्वत भण्डारी उमेर हदबन्दीले छिटै बिदा हुने अवस्थामा भएका कारण सचिव विनय शाह, निरोज पौडेल र महेश चौलागाईंमध्ये एकलाई महासचिव र अर्कालाई उपमहासचिव बनाउने पार्टी तयारी रहेको स्रोतले जनायो । यदि निर्वाचनमा भएमा शाह र चौलागाईंले आपसी सल्लाहमा क्षितिज थेवेको प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।
अध्यक्षको दाबी नछाडेका सुमन पुरीलाई पार्टीका कुनै पनि शीर्ष नेताले खुलेर साथ दिन हिम्मत नगरेपछि उनका समर्थकहरु हतास देखिएका छन् । पार्टीमा कुनै नेताले अध्यक्ष ओलीको चाहनविपरित जाने हिम्मत नगर्दा पुरी पनि धरमरमा छन् ।
पुरीलाई समर्थन गर्ने नेताहरु पनि थेबेको टिममा समायोजन हुन हारगुहार गरिरहेका छन् । जति समर्थक भए पनि पार्टी नेतृत्वविपरित जाने हिम्मत राजनीतिक भविष्य बोकेकाहरुले गर्न नसक्दा सुमन पुरीको पक्षमा शनिवार राति जति माहौल थियो आइतवार समेत कतिपय थाकिसकेका छन् भने कतिपयलाई विभिन्न नेता लगाएर थकाउने क्रम चलिरहेको छ ।
राजनीतिक भविष्य सकिदिने धम्की समेत आइरहेको र जिल्लाका नेताहरुमार्फत पनि दबाब बढेकाले आफूहरुलाई संरक्षण गर्ने नेता नहुँदा अलमलमा परिएको पुरी समर्थकको भनाइ छ । पुरीलाई एमाले अध्यक्ष ओली आफैंले फोन गरेर बस्न भनेपछि बस्ने सम्भावना रहेको निकटस्थहरुको भनाइ छ ।