काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहले महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै १७ नम्बरका वडाध्यक्ष मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । वडाध्यक्ष मानन्धर काठमाडौं महानगरपालिकाको प्रवक्ता हुन् ।
उनले आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको बताए । उनले नेपालप्रेससँग भने,‘म विभिन्न मिडियाहरुमा बोल्दै गर्दा मेयर साबकाे व्यक्तिगत चरित्र हत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउनु भएकाे रहेछ । उहाँकाे व्यक्तिगत हानी भयो भनेर स्पष्टीकरण सोधेको रहेछ ।’ उनका अनुसार उक्त स्पष्टीकरण ७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।
आफूलाई अहिलेसम्म प्रवक्ताबाट नहटाएको बताउँदै उनले मेयर साहले के खोजेको पछि थाहा हुने बताए । उनले भने,‘ मैले राजीनामा दिने कुनै त्यस्तो तयारी छैन । अझै म्याद बाँकी नै छ । तर, मेयर साबले मेरो प्रवक्ताको जिम्मेवारीबाट राजीनामा खोजेको हो कि पछि थाहा हुन्छ ।’
प्रवक्ता मानन्धरले साथीभाईसँग सल्लाह गरेर स्पष्टीकरणको जवाफ दिने बताए । उनी भन्छन्,‘अझै समय बाँकी छ ।साथीभाइसँग सल्लाह गरेर बुझाउनुपर्ला ।’ उनले अहिलेसम्म हातमा स्पष्टीकरण पत्र पाएका छैनन् । उनका अनुसार आफूलाई स्पष्टीकरण सोधिएको जानकारी नगरप्रहरीले दिएका थिए ।
यस विषयमा मेयर साहकाे सचिवालयमा बुझ्न खाेज्दा फोन उठेन ।
केहीदिन मेयर साहले प्रवक्ता मानन्धरसहित ४ जना वडाध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारीबाट हटाएको थिए । मानन्धरलाई सूचना प्रविधि विभागबाट हटाएको २ सातापछि मेयर साहले आज स्पष्टीकरण सोधका हुन् । पछिल्लो समयमा मेयर साहले गर्दै आएको गलत काम गरेको भन्दै मानन्धरसहितका वडाध्यक्षहरुले प्रश्न उठाएपछि उनीहरु निशानामा परेका हुन् ।
यसअघि भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउँदा पनि मानन्धरले समन्वयकारी भूमिका खेलेका थिए ।