रुपन्देही । नेकपा माओवादी केन्द्रको जनजागरण सभामा बुधबार रक्तिम सांस्कृतिक अभियानका कलाकार जीवन शर्मा अतिथि कलाकार बनेर रोल्पाको थवाङमा पुगे । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा सुरु गरेको जनजागरण अभियान बुधबार लुम्बिनी प्रदेशको रोल्पामा आएको थियो ।
पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्व सहभागी भएको यो अभियानमा विभिन्न ठाउँमा जनसभा तथा सांस्कृतिक कार्यक्रमहरु गरिँदै आएको छ । माओवादीले आफ्नो आधार इलाका भन्दै आएको र पार्टीको सशस्त्र युद्धको उद्गमस्थल रहेको रोल्पा र थवाङमा त्यसलाई अझै बढी भव्य बनाउन विविध सांस्कृतिक अभियान चलाइएको हो ।
यसैक्रममा क्रान्तिका गीत गाएका, जनवादी गायकको छवि बनाएका जीवन शर्माले बुधबार थवाङमा प्रचण्डसहित शीर्ष नेताहरुलाई छमछमी नचाएका छन् । उनको लोकप्रिय सिमली छायाँको गीतमा सुरुमा मन्चबाट पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नाच्न आएसँगै क्रमशः सचिव चन्द्रप्रकाश खनाल बलदेव, अनि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु नाचेका हुन् । जिल्ला पार्टी कमिटीले नै बोलाएर जीवन शर्मा माओवादीको जनसभामा गीत गाउनका लागि पुगेको माओवादी निकट प्रेस सेन्टरका नेता उदय जीएमले जानकारी दिए । ‘पार्टी जिल्ला कमिटीले नै उहाँलाई त्यहाँ बोलाएको रहेछ, थवाङलाई विशेष बनाउन नै धेरै कलाकार जुटाइएको हो’, उनले भने ।
गीतसँगै जीवन शर्माले आफूसँगै प्रचण्ड, नारायणकाजी, पासाङ, बर्षमान, ओनसरी, बलदेवसहितका नेताहरुलाई छमछमी नचाएका थिए । ‘माओवादीले क्रान्तिको किल्ला अर्थात जनयुद्धको उदगम थलोको रुपमा विश्वमा परिचित थवाङमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व उपराष्ट्रपति तथा पार्टी उपाध्यक्ष नन्दबहादुर पुन ूपासाङ, पूर्व अर्थमन्त्री तथा पार्टीका उपमहासचिव बर्षमान पुन, ओनसरी घर्ती, बलदेव खनाल र आम जनसमुदायलाई छमछमी नचाए जनगायक जीवन शर्माले । ऐतिहासिक थवाङमा जुरेको ऐतिहासिक संयोग हो’ उदयले भने ।