Take a fresh look at your lifestyle.

सामाजिक विकास मन्त्री खड्कालाई बझाङ कांग्रेसको ८ बुँदे माग

0

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कासँग नेपाली कांग्रेस बझाङले जिल्लाका विभिन्न योजना तथा समस्यामा पहल गरिदिन ८ बुँदे माग पत्र बुझाएको छ।

मङ्गलवार नेपाली काँग्रेसको पार्टी कार्यालय चैनपुरमा कार्यकर्तासँग भेटघाट गर्नेक्रममा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहराले मन्त्री खड्कालाई जिल्लाका विभिन्न समस्याहरूलाई समेटेर ८ बुँदामा मागहरू राखेका हुन्।

सभापति बोहराले मन्त्री खड्कासँग चैनपुर, ताक्लाकोट सडकको काम छिटो सम्पन्न गराउन पहल गरिदिन, साथै सेती लोकमार्ग अन्तर्गत तमैल, छान्ना खण्डको काम अघि बढाउन र आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै, बझाङ, तिब्बत सीमामा पर्ने ताक्लाकोट नाकालाई आधिकारिक नाका घोषणा गरी त्यहाँ भन्सार कार्यालय स्थापना गर्न र नाका खुला गर्न पहल गरिदिन, जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र संवर्द्धनका लागि बजेट विनियोजन गरिदिन, २०७८ सालमा आएको बाढी र पछिल्लो भूकम्पबाट क्षति पुगेका संरचना तथा पीडित परिवारहरूको पुनर्निर्माणमा पहल गर्न, तथा अधुरो रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय गणेशमान स्मृति भवन निर्माणका लागि बजेट उपलब्ध गराउन माग गरेका छन् ।

यस्तै बझाङको मुख्य जयपृथ्वी राजमार्गको स्तरोन्नति, जिल्लाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ ।

पार्टीको तर्फबाट बुझाएको माग पत्रलाई मन्त्री खड्काले सकारात्मक रूपमा लिँदै आफूले सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टी पदाधिकारी तथा अगुवा कार्यकर्ताहरूसँगको भेटघाटमा मन्त्री खड्काले सुदूरपश्चिम प्रदेश सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताए ।

दुई दिने बझाङ भ्रमणमा आएका मन्त्री खड्काले जिल्ला अस्पतालमा पेन प्लसु (नसर्ने रोगसम्बन्धी उपचार कक्ष) र जिल्ला प्रशासन कार्यालय बझाङमा आप्रवासी सहायता कक्षको उद्घाटन समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.