काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)को ३७ औँ चरणको खेल समाप्त हुँदा एस्टन भिल्ला र चेल्सीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई थप मजबुत बनाएका छन् ।
शुक्रवार साँझ सम्पन्न खेलमा टोटनह्याम्पलाई २-० ले पराजित गर्दै भिल्लाले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई थप मजबुत बनाउँदा चेल्सीले पनि म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको बाटो सहज बनाएको हो ।
लिग चरणको अब एक खेल बाकी रहँदा भिल्लाले ६६ अङ्क जोड्दै तालिकामा आफूलाई पाँचौँ स्थानमा उकालेको छ ।
इपिएलको पाँच टोली सोझै च्याम्पियन्स लिगको पहिलो लिग चरणमा छनोट हुने नयाँ नियम बनेपछि यो पटक भिल्लाको सम्भावना मजबुत बनेको हो ।
शुक्रवारको खेलमा १७ औँ स्थानको टोटनह्याम्पलाई पराजित गर्न भिल्लाका एज्री कोन्सा र बुबाकर कमराले समान एक-एक गोल गरे । अब २५ मे मा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्न सके भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का बनाउने छ । नत्र अरूको नतिजामा भर पर्नुपर्ने छ ।
यस्तै चेल्सीले पनि युनाइटेडलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । यो सिजन लिभरपुल लिग च्याम्पियन भैसकेको छ भने च्याम्पियन्स लिगको लागि आर्सनल, म्यानचेस्टर सिटी, न्युक्यास्टल, नटिङ्घम फरेस्ट पनि प्रतिस्पर्धामा छन् ।