Take a fresh look at your lifestyle.

माओवादी महासचिव भन्छन्- ओली सरकार अहिले फेरिन्न, अस्थिरतातर्फ धकेल्नु हुन्न (भिडि‌ओ)

सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिलेको राजनीतिक परिवेशमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको सम्भावना नदेखिएको बताएका छन्।

शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले बाहिरी चर्चा र अड्कलहरू चले पनि वस्तुगतरूपमा हेर्दा सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार चाँडै नै ढल्ने बताइरहँदा महासचिव गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई निरन्तरता दिनु नै उपयुक्त उपाय हो।’

देशमा देखिएको शिक्षक, कर्मचारी र चिकित्सकहरूको आन्दोलन लगायत समस्याहरूको समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै गुरुङले सहमति नहुँदासम्म सरकार फेरबदलको औचित्य नरहेको बताए।

उनले सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू र केही व्यक्तिको अनुमान विपरीत मध्यावधि निर्वाचनको समेत सम्भावना नभएको बताए।

साथै, केही अराजक तत्त्व र भ्रष्ट सहकारी माफियाको स्वार्थका कारण देशमा अराजकता बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, सबै असन्तुष्ट पक्ष र दलहरूबीच संवादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राखे।

गुरुङका अनुसार माओवादी केन्द्रभित्र पनि सरकार परिवर्तनबारे कुनै आधिकारिक छलफल भएको छैन् ।

त्यस्तै, पछिल्लो समय राजावादी समूहद्वारा काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनप्रति टिप्पणी गर्दै उनले त्यसलाई सामन्ती प्रवृत्तिको परिणाम भनेका छन्।

गणतन्त्रको महत्त्व जनतामा बुझाउनुपर्ने आवश्यकतामा समेत उनले जोड दिएका छन्।

राजा फर्किनेबारे उठेका केही विचारप्रति प्रष्ट प्रतिक्रिया दिँदै उनले त्यसलाई न केवल असान्दर्भिक, अव्यवहारिक समेत रहेको बताए।

Leave A Reply

Your email address will not be published.