काठमाडौं । सत्तापक्षले तीनकुनेमा भएको राजावादीको प्रदर्शन पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कु भएको बताएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा समितिका सदस्य समेत रहेका सत्तारुढ दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले यस्तो बताएका हुन् ।
उनले भने, १५ गतेको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कु हो । यो संवैधानिक व्यवस्था अनुसार भएको प्रदर्शन होइन, यो सफ्ट कु नै हो, त्यस दिन सिंहदरबार र नारायणहिटी कब्जा गर्ने नै योजना थियो । आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले हतियार ल्याएर आऊ भनेको होइन र ?
सांसद पन्तको भनाई जस्तोको त्यस्तै
कुनै पनि कार्यक्रम गर्न तीनकुनेमा नदिइयोस्, यसतर्फ सरकारको ध्यान जावस् । जनताको जिउ धनको सुरक्षा गर्न सरकार १५ गतेको प्रदर्शनमा चुकेको छ ।
यदि भृकुटीमण्डपमा प्रहरी दमन भएको भए, निश्चित रुपमा न्यायिक आयोग गठन हुन्थ्यो, तर, त्यो दिनको सामान्य होइन, हिंसात्मक हो, नियोजित हो, सुरक्षा संयन्त्रलाई असफल पार्न गरिएको हुनाले यसको छानबिन भइरहेकाले न्यायिक आयोग गठन गर्न जरुरी छैन ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप भए मात्रै गर्ने हो, तर, आपराधिक घटनामा न्यायिक आयोग गठन गर्नुहुँदैन । हामी पनि टियर ग्यास र अश्रुग्याँस खाएर आएका व्यक्ति हौ । कहिल्यै पनि बर्दीधारीलाई आक्रमण गरेनौ । प्रहरीले अनुसन्धान गरिरहेका बेला छानबिन आयोग बनाउनु हुँदैन, यसमा सरकार र गृह मन्त्रालयको ध्यान जावस्, राजनीतिक आवरणमा आपराधिक घटनामा भइरहेको छानबिनमा बाधा पुर्याउनु हुँदैन ।
तोडफोड र आगजनी हुन्छ भन्ने जानकारी थियो प्रहरी प्रशासनलाई, यसमा जवाफ दिनुपर्छ । दुई दुई वटा प्रदर्शन एकै दिन गर्न सहज थिएन, एउटालाई अर्को दिन गर्नका लागि अनुमति दिन जरुरी थियो । एकै दिन गर्न नदिऊ, घटनाको प्रकृति राजनीतिक घटना हो ? उक्त घटना राजनीतिक नाममा घटाइएको आपराधिक घटना हो ।
राजाको फागुनको स्टेटमेन्ट र गोरखा दरबार भ्रमण गरेर आउनेसँग सम्बन्धित छ । लामो तयारीपछिको घटना हो । बुद्धिमान तामाङ र उहाँको पार्टीको हालत देखेर दया लाग्छ । अर्को व्यक्तिलाई राजाले पत्याइदिएका छन्, तर उहाँहरू राजा राजा भनिरहनुभएको छ । जेठी श्रीमती पर्खेर बसेको बसेइ, तर कान्छी श्रीमती अंगालो हालेर गइसके भनेको जस्तै हो राप्रपाको हालत ।
राप्रपाको संवैधानिक बाटोप्रति पर्खेर बस्ने पक्षमा ज्ञानेन्द्र शाह देखिएनन् । गणतन्त्र भएको मुलुकमा श्री पाँच सरकारको सचिवालय भनेर भन्दा सरकार किन हेरेर बसिरहेको छ ? अहिले श्री ५ को सरकार भनेर किन सूचना जारी भइरहेका छन् ? ज्ञानेन्द्रलाई देश विदेश घुम्ने अधिकार छ आम नागरिकलाई जस्तै ।
रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नगरेका कारण १५ गतेको घटना भएको बुद्धिजीवीको भनाइमा सरकारको भनाई के छ ? दुर्गा प्रसाईँले प्रहरीलाई कुल्चिएर जाँदा पनि किन पक्राउ नगरेको हो ? उनको योजनामा भएको भए उनको बयान किन नलिएको हो ? ज्ञानेन्द्रको भूमिका छ कि छैन, छ भने यो हो भनेर जनताको बिचमा आउनुपर्यो नि ।
१५ गतेको घटनामा भूपू राजाको उक्साहटमा भएको सफ्ट कु हो । संवैधानिक प्रक्रिया होइन, सर्ट कु हो, सिंहदरबार र नारायणहिटी कब्जा गर्ने हो । हतियार ल्याएर आऊ भनेको होइन दुर्गा प्रसाईँले ?