Take a fresh look at your lifestyle.

भोजपुर क्याम्पसमा क्रान्तिकारीसँग सत्ता गठबन्धनको हार, अखिलको २१ वर्षे गढ भत्किनुका यी ५ फ्याक्टर

0

भोजपुर । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियू चुनावका परिणामहरू आउने क्रम जारी छ । यसैक्रममा त्रिविको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा भने २० वर्षदेखि कायम नेकपा एमालेनिकट अनेरास्ववियुको विरासत भने भत्किएको छ ।

यहाँ सत्तारुढ दल कांग्रेस र एमालेनिकटको नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै माओवादीनिकटको अखिल क्रान्तिकारीका उम्मेदवार सभापतिमा विजयी भए ।

अनेरास्ववियुसँगको गठबन्धनमा भिडेका अशोककुमार कार्कीलाई २५ भोटले हराउँदै क्रान्तिकारीका सोविन तामाङले बाजी मारेका छन् । सोविनले २५३ भोट ल्याउँदा अशोक २२८ मा रोकिए ।

क्रान्तिकारी, जसपानिकटको समाजवादी विद्यार्थी युनियन र नेकपा एसनिकटको अनेरास्ववियूले यहाँ गठबन्धन गरेका थिए ।

चुनावी परिणामअनुसार अनेरास्ववियुका उम्मेदवार कोषाध्यक्ष र सदस्य गरी ३, नेविसंघका सदस्य ३, क्रान्तिकारीका अध्यक्ष १ र समाजवादी विद्यार्थी युनियनले १ सचिव जित्यो । अनेरास्ववियूका कोषाध्यक्ष उठेका अभियान चाम्लिङ राई भने पराजित भए ।

कसरी भत्कियो अनेरास्ववियुको गढ ?

भोजपुर क्याम्पसको स्ववियुमा २०६० सालदेखि निरन्तर एमालेनिकटको अनेरास्ववियुले राज गरिरहेको थियो । सुरूमा २ कार्यकाल ध्रुवराज राई सभापति बने, त्यसपछि शारदा राउतले जितिन्, पछिल्लो समय अखिलबाटै क्रमश: प्रकाशसिंह राई र निशान राईले बाजी मारे । यसअघिको चुनावमा तत्कालीन सत्ताधारी कांग्रेस र माओवादीको गठबन्धनलाई पनि अखिलले पराजित गरेको थियो ।

पछिल्लो समय भोजपुरमा तल्लो तहका राजनीतिक प्रतिस्पर्धा र मुद्दालाई खासगरी शेरधन राई र सुदन किरातीबीचको प्रतिष्ठाको लडाइँका रूपमा जोड्ने गरिएको छ । पत्रकार महासंघको निर्वाचनदेखि स्ववियु चुनावसम्म आउँदा पनि त्यो देखिएको जानकारहरू बताउँछन् ।

लामो समयदेखिको विरासत नामेट पारिएको भन्दै अहिले आन्तरिक र वाह्यरूपमा विभिन्न टिप्पणी र आलोचना देखिन्छ । केहीले फेसबुकमा समेत यसलाई पोखेका छन् ।

एमालेका युवा नेता विक्रम बुक्छाँले फेसबुकमा लेखेका छन्, ‘ बाँदर जान्ने हुनु ! धेरै दम्भ राख्नु ! अरु कोई हैन, मै हुँ भन्नुको परिणाम !! अनि अहिले नानाथरीको टिप्पणी थु थु !’

पूर्वस्ववियू सभापति शारदा राउतले पनि चुनावको परिणामलाई लक्षित गर्दै बुधबार बिहानै फेसबुकमा लेखिन्, ‘स्वर्णिम इतिहासको विरासतलाई लत्याएर भएको आत्मसमर्पणको परिणामको समीक्षा गरी अग्रजहरूको पसिनाको महंगो मूल्य चुक्ता गर्न सक्ने क्षमताको विकास गर्नतर्फ लागौं है मित्रहरू ?’

चुनावी परिणामका केही फ्याक्टर

विद्यार्थी संगठनका नेता, माउ पार्टी र चुनावलाई नियालिरहेकाहरूको विश्लेषणलाई आधार मान्दा यो नतिजामा उम्मेदवार चयन, आन्तरिक गुट, सांगठानिक गतिविधिलगायतका फ्याक्टर कारक देखिएको छ ।

एमालेमा विद्यार्थी र पार्टीका केहीले अहिलेकै सभापति निशान नै बलियो उम्मेदवार रहेकाले उनलाई नै अघि सार्नुपर्ने आवाज उठाएका थिए । तर, आफैँ जित्ने अवस्थामा गठबन्धनको नाममा नेविसंघलाई सभापति सुम्पिएको भन्दै देखिएको असन्तुष्टि चुनावमा पोखिएको छ । त्यस्तै सांगठानिक रूपमा पछिल्लो समय क्रान्तिकारीको क्रियाशीलताका कारण सोविनले जितेको माओवादीको बुझाइ छ । उनी यसअघि स्ववियूको सचिवसमेत हुन् ।

त्यस्तै तत्कालीन एमालेनिकटका क्याम्पस प्रशासकको गतिविधि, स्ववियूसँगको तिक्तता र कांग्रेसकै गुटगत असन्तुष्टि पनि ब्यालेट बक्समा देखिएको सम्बन्धित संगठन र दलहरूको निचोड छ ।

एमालेका जिल्ला अध्यक्ष मक्कर खड्काले गठबन्धनले चुनाव हार्नुमा केही कारण केलाए । क्याम्पसमा संगठन केही कमजोर रहेको समानुपातिक मतबाट देखिएको उनले बताए ।

‘हामीविरुद्ध घेराबन्दीका लागि नेविसंघ र क्रान्तिकारी लगभग मिलिसकेका थिए । उनीहरू मिलेको अवस्थामा हामीलाई अझ चुनौती थपिन्थ्यो नै । तर, आन्तरिकरूपमा संगठनविरुद्ध केही गतिविधि देखियो । यसको गम्भीर समीक्षा हुनेछ’, खड्काले भने ।

Leave A Reply

Your email address will not be published.