विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशमा जनार्दन समूह बलियो बन्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै काउन्टर दिने गरी कोशीमा जर्नादन समूह बलियो बन्दा प्रदेशमा भएका विभिन्न अधिवेशनमा सो समूह हाबी हुँदै आएको छ ।
माओवादीको भातृ सङ्गठन प्रेस सेन्टर कोशीको अधिवेशनमा जनार्दन समूह हाबी भएको थियो ।
सेन्टरको कोशी प्रदेशको कार्यसमिति चयनमा प्रचण्ड समूह पराजित भएको थियो । प्रेस सेन्टरको अधिवेशनमा राजन समीप राई विजयी भए । उनी पूर्वपर्यटन मन्त्री सुदन किराँती निकट मानिन्छन् ।
उनले विराटनगरका पत्रकार नवराज कट्टेललाई पराजित गरेका थिए । राईलाई लिम्बुवान, किराँत र मधेसका आदिवासी जनजातिहरू एकत्रित भएर भोट हालेका थिए ।
अहिले विराटनगर महानगरको अधिवेशनमा पनि जनार्दन समूह हाबी भएको छ । जनार्दन समूह हाबी हुँदै अध्यक्ष प्रचण्डको लाइनलाई नै टक्कर दिँदा विराटनगर महानगरको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्न सकेको छैन ।
विराटनगर महानगरपालिकाको अधिवेशनबाट अध्यक्ष बन्न तीन जनाले आकांक्षा देखाएका छन् । आकांक्षीमध्ये नमिता न्यौपानेलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै ग्रिन सिग्नल दिएका थिए ।
तर प्रचण्डको ग्रिन सिग्नलका बावजुत पनि महानगरको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । अधिवेशनको आइतबार पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए ।
अधिवेशनमा स्पष्ट रूपमा नमिताको पक्षमा प्रचण्डले सिग्नल दिएका थिए । उनले सम्बोधन गर्ने नाममा कम्युनिस्ट पार्टीमा निर्वाचनको नाममा गुटबन्दी हुन नहुने समेत बताएका थिए ।
तर प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा नमितासहित दिनेश राजवंशी र ज्ञानु भट्टराईले अध्यक्षको दाबी गरेका छन् ।
अध्यक्षको दाबी गर्ने दिनेश राजवंशीले भने जनार्दन समूहका नेताहरूको साथ र समर्थन पाएका छन् ।
पाटीृ अध्यक्षले लाइन दिँदा पनि नमितालाई अध्यक्ष बनाउन नसकिएपछि सहमतिका लागि भन्दै केही अधिवेशन स्थागीत भएको छ ।
माओवादी केन्द्र विराटनगर महानगरका इन्चार्ज भोगेन्द्र यादवले सहमतिका लागि अधिवेशन स्थगित गरिएको बताए ।
उनले भने, सर्व सम्मत नेतृत्वका लागि कुरा नमिलेपछि केही दिनका लागि अधिवेशन स्थगित भएको छ । दुई चार दिनमा पनि सहमति नभए चुनाव हुने छ ।
८१ जना सदस्य चयन गरेको महाधिवेशनले कोषाध्यक्ष मात्रै चयन गरेको छ । अध्यक्ष, उपाध्यक्ष सचिव र सह सचिव चयन गर्न सकेको छैन । ८१ जना सदस्यहरूले पदाधिकारी चयन गर्ने छन् । सर्वसम्मतका लागि शनिवार सम्मको समय दिइएको छ ।
जनार्दन समूहमा को-को ?
माओवादी केन्द्रका उप महासचिव जनार्दन समूहको नेतृत्व माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आंवोले गरिरहेका छन् ।
उनीसँगै केन्द्रीय सदस्य सुदन किराँती पनि सो समूहमा छन् । उनी यस अघि पर्यटन मन्त्रीसमेत भएका छन् ।
माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) पनि सोही समूहमा छन् । यसैगरी केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री शिवकुमार मण्डल पनि शर्माको गुटमा खुल्दै गएका छन् ।
जनार्दन समूहले अहिले गुटको सँगै जातीय राजनीति समेत गरेको इतर समूहको आरोप छ ।
माओवादीका एक नेताले भने, ‘उनीहरू अहिले जातीयताको नाममा गुट सञ्चालन गरिरहेका छन् । यसले पाटीलाई फाइदा भन्दा घाटा हुने छ ।’
पत्रकारहरूको सङ्गठन प्रेस सेन्टरमा पनि जातीयता हेरियो अहिले विराटनगर महानगरको अधिवेशनमा पनि सो समूहले जातीय राजनीति गर्दा सिनियर पाखा लाग्ने अवस्था आएको छ ।
‘यहाँ नाकका आधारमा व्यवहार हुन्छ । पार्टी जातिवादी भयो’, भोजपुरका एक नेताले भने, ‘यही हिसाबले जाने हो भने लामो नाकवालाहरूले ठाउँ पाउने अवस्था कमजोर बन्दै छ ।’
जनार्दन शर्मा गुटले जातलाई कसरी पक्रिएको छ भन्ने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड पक्षीय माओवादी नेताहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।
यस्तै अर्को उदाहरण माओवादी विराटनगर महानगरपालिकाको सम्मेलन । उक्त सम्मेलनमा नेता शिवकुमार मण्डलले आफ्नो समूहबाट देव राजवंशीलाई जबरजस्ती अगाडि सारिदा सिनियरहरु पाखा लाग्ने अवस्था देखिएको छ ।
गुटको आलोचना गर्दा स्पष्टीकरण
प्रदेशमा शक्तिशाली बन्दै गएको जनार्दन समूहले आलोचना गर्नेहरूलाई स्पष्टीकरण सोध्न थालेको छ । सामाजिक सञ्जालमा लेखेको भन्दै सो समूहले कोशी प्रदेश सचिवालय सदस्य मदन चुडाँललाई स्पष्टीकरण सोधेको छ ।
केही दिन अघि कोशी प्रदेशमा आएका जनार्दन शर्मालाई लक्षित गर्दै चुडाँलले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।
उनले फेसबुकमा जनार्दन शर्मा पूर्वतिर गुटबन्दी गर्न हिँडेको आरोप लगाएका थिए ।उक्त विषयमा चुँडाललाई माओवादी कोशी प्रदेशको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
‘प्रदेश परिषद् बैठकबाट पारित अनुशासन सम्बन्धी कार्यविधि विपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुने गरी सामग्री सम्प्रेषण गर्नुभएकोले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश समितिले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
शर्मा केही दिन अगाडि कोशी प्रदेश आएका थिए । त्यस बेला शर्माले स्ववियु निर्वाचन जितेका अखिल क्रान्तिकारीका नेताहरूलाई बोलाएर शुभकामना तथा बधाई दिएका थिए ।
त्यही बेला उनलाई आङ्बो र नेम्वाङलगायतले ताप्लेजुङको मुक्कुम्लुङ सङ्घर्ष समितिसँग भेट गराउनुको साथै पाँचथरका विभिन्न पालिकामा भ्रमणसमेत गराएका थिए ।